Archive

Nepal's trade is now surplus in US market

नेपालअमेरिका बीचको वैदेशिक व्यापारमा नेपाल नाफामा फर्कियो

नेपालअमेरिकाबीचको वैदेशिक व्यापारमा नेपाल नाफामा फर्किएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा अमेरिकासँगको व्यापारमा नेपाल नाफामा रहेको हो । विगत लामो समयदेखि अमेरिकासँगको व्यापारमा नेपालले घाटा व्यहोर्दै आइरहेको थियो । चालु आर्थिक वर्ष सुरुका २ महिना अमेरिकासँगको व्यापारमा घाटा ब्यहोरे पनि त्यसपछि निरन्तर नाफा भइरहेको हो ।

असोज महिनादेखि भने नेपालले नाफा आर्जन गर्न सुरु गरेको तथ्याङ्कले देखाएको छ । असोज महिनासम्म नेपालले अमेरिकासँगको व्यापार घाटा उल्ट्याउँदै ४६ करोड  ९ लाख रुपैयाँ नाफा गरेको छ । यो महिना नेपालबाट ५ अर्ब १६ करोड रुपैयाँको सामान निर्यात गर्दा अमेरिकाबाट ४ अर्ब ६९ करोडको आयात भएको थियो ।

नेपालबाट अमेरिकातर्फ सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा कार्पेट, गलैँचा, ऊनी र छुर्पी पर्छन् । यिनै वस्तुको निर्यात बढ्दा नेपाललाई अमेरिकासँगको व्यापारमा नाफा देखिएको छ ।यसबाहेक नेपालबाट पास्ता, सुगन्धित तेल (अत्तर) हस्तकलाका सामग्री, हातेकागज, पस्मिना, कटनका कपडा, पस्मिनाबाट निर्मित सल र मफलर, सुनचाँदीका गरगहना, वाद्यवादनका सामग्री र ड्रइङ (पेन्टिङ) निर्यात हुन्छ ।नेपालमा निर्मित पस्मिना, कार्पेट, गलैँचा र गरगहनाको ठूलो बजार अमेरिकामा देखिन्छ ।