Archive

Nepal-China trade: free trade feasibility study on the cards
The Government of Nepal has started a feasibility study to explore potential of free trade Agreement with China. Minister for Commerce Romi Gauchan Thakali said the feasibility study is an important step to explore free trade opportunities as Nepal and China has already signed MOU to diversify trade.

 काठमाडौं । सरकारले चीनसँग हुन सक्ने स्वतन्त्र व्यापार सम्झौताका लागि सम्भाव्यता अध्ययन शुरू गरेको छ । वाणिज्यमन्त्री रोमी गौचन थकालीले नेपालको व्यापारलाई विविधीकरण गर्ने उद्देश्यका साथ उत्तरी छिमेकी चीनसँग भएको समझदारी (एमओयू) अनुसार स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन अघि बढाइएको बताएका छन् ।

आफ्नो कार्यकालमा भएका कामहरूको जानकारी दिँदै मन्त्री थकालीले भने, ‘चिनियाँ क्षेत्रमार्फत पारवहन सुविधाको उपयोगका लागि नेपाल–चीनबीच ‘पारवहन ढुवानी’ सम्झौता सम्पन्न भइसकेको छ, यसको कार्यान्वयनका लागि आवश्यक पर्ने प्रोटोकलको मस्यौदा तयार भएको छ ।’ नेपालको व्यापारको पहुँचलाई विश्व बजारमा पुर्‍याउन प्रविधिमैत्री र प्रतिस्पर्धी हुनु आवश्यक भएको उनले बताए ।

बिहीवार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘व्यापारमा आधुनिकीकरण र प्रविधिमैत्री हुन नसक्दा नेपालमा उत्पादित वस्तुहरूको गुणस्तर परीक्षणका लागि भारत तथा अन्य मुलुकमा लैजानुपर्ने बाध्यता रहेको छ ।’ उनले तातोपानी नाका सञ्चालनका लागि अझै अन्योल कायम रहेको बताए । तातोपानी सञ्चालनका लागि चिनियाँ सरकार सकरात्मक देखिएकाले छिटै निष्कर्षमा पुग्ने उनले बताए । रसुवा नाका सञ्चालनका लागि नेपालका तर्फबाट पूर्वाधार निर्माणको काम सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै अमेरिकाले भन्सार छूट दिँदै आएका नेपालका निर्यातजन्य वस्तुहरूको सङ्ख्या ७७ पुगेको छ । नेपालबाट निर्यात हुने ६६ वस्तुमा पछि गार्मेण्ट, हाते झोलालगायत ११ ओटा वस्तु थप भएका हुन् । नेपालका निर्यातजन्य वस्तुहरू आगामी २०२५ डिसेम्बरसम्म सहुलियतपूर्ण बजार पहुँच सुविधा उपलब्ध गराउने विषयको प्रस्तावलाई औपचारिकता दिएको जनाइएको छ । यस्तै मन्त्रालयका अनुसार बङ्गलादेशसँग द्विपक्षीय व्यापार सम्झौता गरिने भएको छ । दुई देशबीचको व्यापार प्रवर्द्धनका लागि ड्युटी फ्री, व्यापार पहुँचलगायत विषयमा सचिवस्तरीय सम्झौता हुने उल्लेख छ ।

व्यापार सहजीकरणमा भएका काम

  • रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माणका लागि जग्गाको मुआब्जा वितरण सम्पन्न
  • सुक्खा बन्दरगाहको विस्तृत ढाँचा (डिटेल डिजाइन) कार्य शुरू
  • भैरहवाको सुक्खा बन्दरगाहको पैदलमार्ग निर्माण कार्य सम्पन्न
  • वीरगञ्ज सुक्खा बन्दरगाहमा रेलवे ट्र्याक व्यवस्थित गर्ने र गोदामघर विस्तार कार्य शुरू भएको
  • दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि स्थानको यकिन गर्न नेपाल भारतको संयुक्त संयन्त्र बनाइएको
  • अमेरिकाले भन्सार छूट दिने वस्तुको सङ्ख्या ७७ पुग्यो
  • बङ्गलादेशसँग द्विपक्षीय व्यापार सम्झौता हुने

source: http://www.abhiyan.com.np/new/Articles/view/98731