Archive

Cargo tracking system will be implemented soon : Ministry of Industry, Commerce, and Supplies
A cargo tracking system that will speed the operation of the exports and import of goods from third countries is in the last phase of implementation.

तेस्रो मुलुकबाट आयात गरिने सामानको ढुवानी छिटो र छरितो गर्न सरकारले सञ्चालनमा ल्याउन लागेको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीको काम अन्तिम चरणमा पुगेको छ ।

सो प्रणाली एशियाली विकास बैङ्कको सहयोगमा सञ्चालनमा आउन लागेको हो । व्यापार व्यवसायमा सहजीकरण गर्ने उद्देश्यले सरकारले ल्याएको ट्र्याकिङ प्रणाली अन्तिम चरणमा पुगेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशङ्कर सैंजूले बताए । उनका अनुसार अनलाइन ट्र्याकिङ प्रणाली कार्यान्वयनमा ल्याउन आवश्यक सफ्टवेयरसमेत निर्माण भइसकेको छ ।

छिमेकी मुलुक भारत र चीनबाहेक अन्य देशबाट नेपालमा आयात हुने सामानमा सरकारले ट्र्याकिङ प्रणाली लागू गर्ने तयारी अघि बढाएको थियो । यसलाई चाँडै कार्यान्वयनमा ल्याउने भन्ने विषयमा छलफल भइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।

‘परीक्षणका लागि शुरूमा करीब ३ महीनाका लागि यो प्रणाली कार्यान्वयनमा ल्याइनेछ,’ प्रवक्ता सैंजू भन्छन्, ‘कम्तीमा पनि ५ देखि ६ महीनासम्म कार्यान्वयनमा नल्याई यसबारे प्रतिक्रिया लिन मिल्दैन ।’ मुख्यगरी नेपालले भारत हुँदै तेस्रो मुलुकबाट आयात गर्ने वस्तुहरूमा यो प्रणाली लागू गर्न लागेको हो । यसका लागि नेपाल र भारतबीच सहमति भइसकेको मन्त्रालयको दाबी छ । भारतले नै यसका लागि आवश्यक सफ्टवेयर निर्माण गरेकोसमेत मन्त्रालयले खुलाएको छ ।

मन्त्रालयका अनुसार उक्त प्रणाली लागू भएपश्चात तेस्रो मुलुकबाट आयात हुने सामानमा कम समय खपत हुँदैै चाँडै नेपाल भित्रिने छ । त्यसले व्यापार व्यवसायमा हुँदै आएका विभिन्न प्रकारका अवरोध समेत हट्ने छ । ट्र्याकिङ प्रणाली लागू भएपछि कुन ठाउँबाट केकस्तो सामान आइरहेको छ भन्ने विषयमा अनलाइनबाट नै जानकारी प्राप्त गर्न सकिन्छ ।

त्यस्तै बन्दरगाहदेखि सम्बन्धित स्थानसम्म सामान ल्याउने रेल वा गाडी अन्य कतै गएको, बीचमा कसैले सामान निकाल्न खोजेको जस्ता गतिविधिबारे अनलाइनबाटै जानकारी पाइने मन्त्रालयको दाबी रहेको छ । त्यस्तै ट्र्याकिङ प्रणाली जडान गर्दा आयातकर्ताले आफ्नो सामानको बीमा गर्नुपर्ने आवश्यकता छैन । सामानको बीमा नगर्दा मात्रै पनि व्यवसायीहरूको प्रति कण्टेनर २८ हजार रुपैयाँ भारू बचत हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रवक्ता सैंजूका अनुसार हाल यसलाई परीक्षणका रूपमा कार्यान्वयनमा ल्याए पनि सो अवधिपश्चात् भने यो सबैलाई बाध्यकारी बनाइनेछ ।
नेपालले तेस्रो मुलुकबाट आयात गर्ने सामानमा कोलकातास्थित बन्दरगाहमा नै सबै कण्टेनरमा इलेक्ट्रोनिक ट्र्याकिङ जडान गर्ने व्यवस्था गर्ने भएको छ । त्यस्तै सामान भन्सार नाकाबाट नेपाल भित्रिएपछि ट्र्याकिङ प्रणालीलाई त्यहीबाट हटाइने उनले बताएका छन् । उनका अनुसार ट्र्याकिङ प्रणाली जडान गर्दा भन्सार नाकाबाट नेपाल भित्रिने कण्टेनरको अनावश्यक तलासी हुने छैन र सामान हराउने सम्भावना न्यून हुँदै जान्छ । ‘अहिले भने कोलकाताबाट नेपाल आउने सामानको कण्टेनरमा भारतले एडिशनल ताला लगाउँदै आएको छ,’ सैंजु भन्छन्, ‘ट्र्याकिङ प्रणाली लागू भएपछि भारतले कुनै प्रकारको ताला लगाउन पाउँदैन ।’ साथै भारतले लगाउने उक्त तालाको रकम समेत व्यवसायीबाट असुल गर्दै आएको उनले खुलाएका छन् ।

हाल विभिन्न मुलुकबाट आयात भएका वस्तुको कण्टेनर नेपाल आइपुग्न २ महीनासम्म लाग्ने गरेको छ । अब यस अनलाइन ट्र्याकिङ प्रणालीपश्चात कम समयमै कण्टेनर नेपाल भित्रिने छ । त्यस्तै यसले आयातकर्ताको समय र खर्च दुवैको बचत गर्ने मन्त्रालयको दाबी छ । पुस १७ देखि नै कार्यान्वयनमा आउने भनिएको ट्र्याकिङ प्रणाली विभिन्न प्राविधिक कारणले कार्यान्वयनमा आउन नसकेको वाणिज्य मन्त्रालले बताएको छ ।

 

Source: http://www.abhiyan.com.np