Archive

चियाले विदेशी मुद्रा भित्र्याएको दाबी

नेपालमा १६ हजार ९ सय १७ हेक्टर जमिनमा चिया खेती गरिएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २६ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दावी गरे ।
बोर्डले यस वर्षको चिया दिवसको नारा ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार : चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने तय गरेको छ । कार्यकारी निर्देशक भट्टराईले चियामा लगानी बढाउन सकिए त्यसलाई मुलुकको आर्थिक समृद्धिको आधार बनाउन सकिने बताए । बोर्डले हरेक वर्षको १५ वैशाखमा राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ ।
नेपालमा १६ हजार भन्दा बढी चिया कृषक र ६० हजार यसका श्रमिकहरु संलग्न रहेको बोर्डको भनाइ छ ।
भारतलगायत अन्य तेश्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ । गत आ.व. २०७६/०७७ मा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको १ लाख १ हजार १ सय ८५ मेट्रिक टन चिया निर्यात भएकोमा गत आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको १ लाख १ हजार ९ सय २० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
तत्कालिन बडाहाकिम गजराज सिंह थापाले वि.स. १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको हो । तत्कालिन राजा विरेन्द्रले वि.सं. २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्रको रूपमा घोषणा गरेपछि सरकारी स्तरबाट व्यवसायिक चिया खेतीको प्रवद्र्धन भएको पाइन्छ ।
नेपालमा चिया तथा कफी क्षेत्रको योजनावद्ध विकास गर्न नेपाल सरकारले राष्ट्रिय चिया तथा कफी विकासबोर्ड ऐन, २०४९ अन्तर्गत छुट्टै बोर्डस्थापना गरे पश्चात साना किसानको स्तरमा चिया खेतीले व्यापकता पाएको हो ।

Source: https://www.karobardaily.com/news/183538