Archive

काठमाडौंलाई व्यापारको हब बनाइने

प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले काठमाडौं उपत्यकालाई अन्तराष्ट्रिय व्यापारको हब बनाउने बताएका छन् । मंगलबार बन्दरगाहको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले बन्दरगाह सेवा सञ्चालन हुँदा काठमाडौं उपत्यका अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास हुने बताएका हुन् । उनले उपत्यकाबाट हुने व्यापारलाई सहजीकरण गर्न र व्यापारको लागत घटाउन बन्दरगाहले सहयोग गर्ने भन्दै वस्तु तथा सेवाको आयात र निर्यातलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन पनि सुख्खा बन्दरगाहले भूमिका खेल्ने बताए ।
प्रधानमन्त्री देउवाले मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रुपमा विकास गर्न सुख्खा बन्दरगाह जस्ता संरचनाहरूको आवश्यकता पर्ने बताउँदै बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सीपमा आधारित उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । उनले उद्योगी, व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात बढाउन र अनुत्पादक बिलाशिताका वस्तु आयातलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह पनि गरे । प्रधानमन्त्री देउवाले नेपालमा रेल आवश्यक भए पनि बनाउन धेरै खर्च लाग्ने भन्दै कुनै दातृ राष्ट्र वा संस्थासँग सस्तो व्याजदर अथवा अनुदानमा पाए रेल ल्याउन सकिने बताए । साथै उनले लगानी र औद्योगिक विकासको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए ।

Source: https://www.karobardaily.com/news/180861