Archive
वार्षिक निर्यात ५० करोडभन्दा बढी भए थप सुविधा कार्तिक 3, वुधवार वार्षिक निर्यात ५० करोडभन्दा बढी भए थप सुविधा कार्तिक 3, वुधवार

वार्षिक निर्यात ५० करोडभन्दा बढी भए थप सुविधा
कार्तिक 3, वुधवार
निर्यात क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले नगद अनुदानसम्बन्धी व्यवस्थालाई संशोधन गरेको छ । संशोधित व्यवस्थाले नगद अनुदान सम्बन्धी सुविधालाई थप फराकिलो बनाएको छ भने बढी निकासी गर्नेले थप सुविधा पाउनेछन् ।
निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ (दोस्रो संशोधन) लागू गर्दै सरकारले निर्यातमा अनुदान पाउने वस्तु र उद्योगको वार्षिक निर्यात ५० करोडभन्दा बढी भए थप सुविधाको व्यवस्था गरेको हो । जसअनुसार वार्षिक ५० करोडभन्दा बढी निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको छ । यसअघि वस्तु निर्यातमा कम्तीमा ३ देखि अधिकतम ६ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था थियो।
कार्यविधि अनुसार ५० करोडभन्दा कम मात्रामा वस्तु निर्यात गर्ने उद्योगले पाउने नगद अनुदान सीमा भने कम्तीमा ४ देखि मूल्य अभिवृद्धि र अघिल्लो वर्षको निर्यातको आधारमा अधिकतम ८ प्रतिशतसम्म अनुदान पाइने व्यवस्था रहेको छ । निर्यातमा अनुदान पाउने वस्तुको सूची पनि सरकारले थप गरेको छ । अब साविकका बाहेक अम्रिसो, फलफूल, दुग्धजन्य पदार्थ, सिमेन्ट, स्टिल, प्लाइउड, कत्था, क्लिंकर, रोजिन एण्ड टर्पेन्टाइन निर्यात गर्दा नगद अनुदान पाइने छ । चालू आर्थिक वर्षको बजेटमा सिमेन्ट, फलामे डन्डी तथा सूचना प्रविधिजन्य क्षेत्रको निकासीमा ८ प्रतिशतसम्म नगद अनुदान दिइने उल्लेख छ ।
कार्यविधिको अनुसूची १ र २ का वस्तु तथा उत्पादनहरूले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि गरेर निर्यात गरे ४ प्रतिशत र ५० प्रतिशतमाथिको मूल्य अभिवृद्धि गरेर निर्यात गरे ५ प्रतिशत अनुदान पाउनेछन् । ३०/५० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तुले मूल्य अभिवृद्धि बढाएर ७०/८० प्रतिशत पुर्याएमा थप एक–एक प्रतिशत अनुदान थप पाउने कार्यविधिमा उल्लेख छ । यस्तै, ती वस्तुले ट्रेडमार्क पाएका छन् भने तिनले थप १ प्रतिशत अनुदान पाउनेछन् भने अघिल्लो वर्षको भन्दा २० प्रतिशतले निर्यात वृद्धि गरेका पनि नगद अनुदान एक प्रतिशतले थप हुनेछ । अनुदान लिनका लागि उद्योगी–व्यवसायीले उद्योग विभागमा निवेदन पेस गर्नु पर्नेछ । यसरी दिइएको निवेदन विभागले प्रमाणित गरेर वाणिज्य बैंक तथा राष्ट्र बैंकलाई पत्राचार गर्नेछ, जसअनुसार शोधभर्ना अनुसार निर्यातकर्ताले अनुदान रकम प्राप्त गर्नेछन् ।