Archive

Discussion on Trade facilitation
The Commerce Secretary-level meeting between Nepal and India discussed regarding trade facilitation. The meeting that started on Tuesday focused on trade facilitation between the two countries

नेपाल र भारतका वाणिज्य सहसचिवस्तरीय बैठकमा व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको छ । मंगलबारदेखि राजधानीमा सुरु भएको अन्तरसरकारी उपसमितिको बैठक दुई देशबीचको व्यापार सहजीकरणमा केन्द्रित भएको हो । 
नेपाल–भारत अन्तरसरकारी समिति (आईजीसी)को बैठक बिहिबारदेखि हुने भएको भएको छ । त्यसको पूर्वसन्धयामा शुरु भएको सहसचिव स्तरीय बैठकले एजेन्डा तय गर्ने छ । मंगलबारदेखि सुरु भएको आईजीएसी बैठकमा नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजु र भारतका तर्फबाट वाणिज्य सहसचिव भुपेन्द्रसिंह भल्लाको नेतृत्वमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । यो बैठकले प्रस्ताव गरेका मुद्दालाई सचिवस्तरीय बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्रकुमार घिमिरे र भारतका रिता टिओरियाले टुंग्याउने मन्त्रालयले जानकारी दिएको छ । ।
मन्त्रालयका सहसचिव रविशंकर सैंजुले व्यापार सहजीकरण कसरी गर्ने विषयमा छलफल भएको बताए । नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालन गर्न पाउनुपर्ने विषयलाई पनि उठाइने उनले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेलामा समेत एजेन्डामा परेको यो मुद्दालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको मन्त्रालयस्तरबाट टुंगो लगाउने भन्दै पन्छाएका थिए । 
आईजीसी बैठक पूर्णरूपमा प्राविधिक विषय र दुई मुलुकबीचको व्यापार सहजीकरणका विषयमा केन्द्रित हुने मन्त्रालयले जानकारी दिएको छ । वाणिज्य मन्त्रालयले विगत लामो समयदेखि भारतमै अड्किएका नेपाली ग्यास बुलेट, अदुवा निर्यातमा देखिने गरेका समस्यालगायतका विषयमा छलफल हुने टुंगो लगाइसकेको जनाएको छ । नेपाली ग्यास उद्योगीले भारतमा निर्माण गरेका तर भारत सरकारले आवश्यक अनुमति नदिँदा ती ग्यास बुलेट करिब दुई वर्षदेखि भारतमै अड्किएका छन् । 
त्यस्तै कृषिजन्य वस्तुको निर्यात सहज बनाउने विषयमा पनि छलफल हुनेछ । नेपालमा उत्पादन हुने अदुवालगायतका कृषिजन्य वस्तुको निर्यात सहज नहुँदा नेपालबाट हुने निर्यातमा समय–समयमा समस्या आउने गरेको छ ।
मन्त्रालयका अनुसार आईजीसी बैठकमा अलैंची, जुट, अदुवा निर्यातबारेको छलफललाई पनि उच्च प्राथमिकता दिइने छ । भारतीय पक्षले विभिन्न बहानामा निर्यातमा रोक लगाउँदै आएको छ । भारतले लगाएको वस्तु तथा सेवा कर, अदुवामा रासायनिक विषादी र खरिदकर्ताले भारतीय मन्त्रालयबाट निर्यात कोटा तोकेर ल्याए मात्रै नेपाली अदुवा भारत लैजान दिने भन्दै रोक लगाएको थियो ।
कूटनीतिक पहलमा निर्यात खुला भए पनि आईजीसी बैठकमार्फत दीर्घकालीन रूपमा समाधान गर्ने मन्त्रालयको योजना छ । छलफलका क्रममा तेस्रो मुलुकसँगको व्यापारबारे पनि चर्चा हुने जनाइएको छ । भारत हुँदै तेस्रो मुलुकबाट सामान आयात गर्दा व्यवसायीहरूले विभिन्न समस्या भोग्दै आएका छन् । गैरभन्सार अवरोध हटाउनुपर्ने विषयलाई पनि नेपालले महत्व दिने सैंजुले बताए ।
त्यसैगरी नेपाल र भारतको व्यापारको केन्द्रका रूपमा चिनिएका चारवटा नाका भैरहवा, नेपालगन्ज, विराटनगर र दोधरा चाँदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणका विषयमा पनि छलफल हुने छ । त्यस्तै नेपालको भारतसँगको वैदेशिक व्यापार घाटा उच्च रहेकाले व्यापार घाटा कम गर्ने विषयमा समेत बैठकमा छलफल हुने टुंगो भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

source: www.karobardaily.com