Archive

ECTS system in Nepali cargo coming to Kolkata port.
The Electronic Cargo Tracking System (ECTS) has been implemented in the Indian sea port for the cargo coming to Nepal from the third country.

भारतीय समुद्री बन्दरगाह हुँदै तेस्रो मुलुकबाट नेपालका लागि आउने कार्गोमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिष्टम (ईसीटीएस) लागू भएको छ । कोलकाता बन्दरगाह हुँदै नेपाल आउने कण्टेनर कार्गोमा यो प्रविधि लागू भएसँगै समुद्रपारको व्यापारको लागत कम हुने अपेक्षा गरिएको छ । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले नेपाली कार्गोमा ईसीटीएस कार्यान्वयनमा आएको बतायो । महावाणिज्यदूत एकनारायण अर्यालले कोलकाता बन्दरगाहबाट आउने कार्गोमा प्रविधि शुरू भएको बताए । ‘कोलकाता बन्दरगाहले नेपालका लागि आएका कण्टेनरमा प्रविधि कार्यान्वयनमा ल्याएको छ । यसबाट नेपालको आयात छिटोछरितो हुने विश्वास गरिएको छ,’ महावणिज्यदूत अर्यालले आर्थिक अभियानसित भने ।

कोलकाता बन्दरगाह भएर नेपाल आउने कण्टेनर कार्गोलाई ईसीटीएस प्रणालीमा जोडिएसँगै आयातको लागत घट्ने दाबी सरोकारका पक्षको छ । नेपालको कार्गो ‘ह्याण्डलिङ’मा अन्य प्रतिस्पर्धी बन्दरगाह अगाडि आएपछि कोलकाताले पूर्वाधार र प्रविधि सुधार थालेको अर्यालले बताए । ‘कोलकाता बदरगाहमा सुधारको प्रयास नेपालको आयातका लागि अवसर हो,’ उनले भने, ‘यो अवसरलाई स्वदेशी आयातकर्ताले उपयोग गर्नुपर्छ । कोलकाता बन्दरगाहले एशियाली विकास बैङ्कको सहयोगमा गत मार्चको शुरूदेखि परीक्षणका रूपमा आन्तरिक ढुवानीमा यो प्रणाली लागू गरेको थियो । नेपालका लागि पहिलोपटक कार्यान्वयनमा ल्याइएको हो ।

तेस्रो मुलुकबाट आउने ८० प्रतिशतभन्दा बढी कण्टेनर कार्गो कोलकाता बन्दरगाहबाट आउँछन् । कोलकातामा भएको सुधारले आयातमा सकारात्मक प्रभाव पर्ने आयातकर्ता बताउँछन् । यो प्रविधि रेल र सडक दुवै मार्गका लागि प्रभावकारी हुने बताइएको छ । प्रविधि उपयोगबापत आयातकर्ताले प्रत्येक ‘लोडेड’ कण्टेनरमा ३ हजार ३ सय र खालीमा ८ सय भारतीय रुपया तिर्नुपर्छ । हल्दिया र विशाखापत्तनम् बन्दरगाहमा पनि यो प्रविधि कार्यान्वयनमा ल्याइनेछ । यसबाट नेपाली आयातको लागत घट्नुका साथै बन्दरगाहको प्रक्रिया र ढुवानीका क्रममा बाटोमा हुने ढिलासुस्तीसमेत न्यूनीकरणमा सघाउ पुग्ने बताइएको छ ।

बन्दरगाहमा आइपुगेका कण्टेनरको सिलमा रेडियो फ्रीक्वेन्सी आइडेण्टिफिकेशन डिभाइस (आरएफआईडी) जडान गरिन्छ । यसको मद्दतबाट बन्दरगाह, दुवै देशका भन्सार अधिकारी र आयातकर्ताले कार्गोको अवस्थिति सजिलै थाहा पाउन सक्ने कोलकाता पोर्ट ट्रष्टका अधिकारी बताउँछन् । कोलकाता बन्दरगाह भौतिक र प्राविधिक सुधारमा लागिपरेको पोर्ट ट्रष्टका अध्यक्ष विनितकुमारले बताए । ‘संरचनागत र प्राविधिक पक्षको सुधारमार्फत सेवाग्राहीलाई प्रभावकारी सेवा दिन प्रयासरत छौं,’ उनले भने ।

आयातकर्ताले भारतीय बन्दरगाहमा हुने भन्सार प्रक्रिया हटाउन माग गर्दै आएका छन् । कार्गोको सुरक्षा संवेदनशीलता र ढुवानीका क्रममा दुरुपयोगलाई कारण देखाएर भारतीय पक्षले आनाकानी गरिरहेको छ । ईसीटीएसबाट कण्टेनरको अवस्थिति सजिलै पत्ता लगाउन सकिने भएकाले भारतीय पक्षको आशङ्कासमेत समाधान हुने दाबी गरिएको छ । ईसीटीएसबाट कार्गो गन्तव्यको बाटो छोडेर अन्यत्र लगेमा तत्कालै जानकारी पुग्छ ।

यो प्रविधि कार्यान्वयनमा आएपछि नेपाली आयातमा भारतीय समुद्री बन्दरगाहमा भइरहेको भन्सार प्रक्रिया हटाउन सहज वातावरण बनेको आयातकर्ता प्रदीप केडियाले बताए । ईसीटीएसको कार्यान्वयन सफल भए आयातनिर्यात व्यापारलाई लाभ पुग्ने उनको विश्वास छ । महावाणिज्यदूत अर्यालले यसबाट आयातकर्ताले घरमै बसीबसी अनलाइनबाटै कण्टेनरनको अवस्था पत्ता लगाउन सक्ने बताए । बन्दरगाह व्यवस्थापन, त्यहाँको भन्सार, आयातकर्ताका प्रतिनिधि, ढुवानीकर्तालगायत सबै पक्षलाई समयमै काम सक्न दबाब हुने उनको दाबी छ

Source: http://www.abhiyan.com.np