Archive

राष्ट्रिय सम्पत्तिको मूल्यांकनमा जोड

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सम्पत्तिको मूल्यांकन गर्नुपर्ने कुरामा जोड दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अर्थतन्त्र सुधारका लागि सरकारी सम्पत्तिको लेखा परीक्षण हुनुपर्ने बताएका हुन् ।
“अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ,” उनले भने, “हाम्रो हिमाल, पहाड र तराईको मूल्य कति हो, झरनाको मूल्य कति हो, हाम्रा युवा बहुल श्रमिकहरूको मूल्य कति हो । त्यसको मूल्य पहिचान गरेर लेखापरीक्षण गर्नुपर्छ ।”
तर, महालेखा नियन्त्रक कार्यालयले भने यसअघि नै सरकारी सम्पत्तिको अभिलेखीकरण सुरु गरिसकेको छ । नेपाल सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन गर्ने हेतुले महालेखा नियन्त्रक कार्यालयले डेढ वर्षदेखि नै अभिलेख संकलन सुरु गरेको छ । तर, हालसम्म सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन भने भइनसकेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता नवराज ढुंगानाले बताए ।
उनका अनुसार सरकारी खर्चले सिर्जना गरेको सम्पत्तिको मूल्यांकन गर्ने काम तीव्र रूपमा अगाडि बढिरहेको छ । “नेपालमा ५ हजार २ सयभन्दा बढी कार्यालय छन्,” उनले भने, “पहिलो चरणमा उनीहरूसँग भएको भौतिक सम्पत्तिको विवरण संकलन भइसकेको छ ।”
केही समयमा नै सरकारको नाममा रहेको घरजग्गालगायत नदीनाला, पहाड, पखेराहरूको पनि अभिलेख सुरु हुने उनको तर्क छ । वार्षिक बजेटमा विभिन्न कार्यालयहरूले गरेको पुँजीगत खर्चले कति सम्पत्ति सिर्जना गरिरहेको छ भनेर अभिलेख संकलन भइरहेको बताउँदै ढुंगानाले त्यसपछि नेपाल सरकारसँग भएका अन्य सम्पत्तिको अभिलेख संकलन गरिने बताए ।
तर, सरकारसँग भएको सम्पत्तिको मूल्यांकन गर्न त्यति सहज भने नरहेको ढुंगानाको तर्क छ । “सगरमाथाको कति मूल्य तोक्ने, पशुपतिनाथको मूल्य कति तोक्ने, जलस्रोतको धनी देशमा नदीनालाहरूको मूल्य कति तोक्ने भन्ने कुरा यकिन गर्न त्यति सहज छैन,” उनले भने । यसका विभिन्न अन्तर्राष्ट्रिय मापदण्डहरू रहेको बताउँदै उनले त्यसैका आधारमा काम अगाडि बढाइने बताए । सरकारको नाममा केकति सम्पत्ति छ भन्ने कुरा थाहा पाउनु सबैको अधिकार भएकाले राम्रो कामको सुरुवात भएकाले छिटै सम्पन्न गर्न लागिपरेको उनको तर्क छ ।

Source: https://www.karobardaily.com/news/184238