Legal Documents
वित्तीय क्षेत्र सुदृढीकरण गर्न विश्व बैंकको १८ अर्ब ऋण सहयोग

वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।
“हाम्रा मुख्य प्राथमिकताहरू दिगो र समावेशी वृद्धि हासिल गर्ने उद्देश्यद्वारा निर्देशित छन् जुन वित्तीय क्षेत्र विकास रणनीति (२०७८/ २०८२) मा पनि प्रतिबिम्बित छ जसले कोभिड १९ र जलवायु परिवर्तनका उदीयमान जोखिमको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणलाई मूल प्रवाहमा ल्याउन केन्द्रित रहेको छ” अर्थसचिव मधुकुमार मरासिनीले भने, “यस ‘वृद्धिका लागि वित्त’ आयोजनाले यी प्राथमिकताहरूमा योगदान पु-याउँछ ।
उनले विदेशी मुद्राको सचितीमा परेको चापलाई यो रकमले केही हदसम्म योगदान गर्ने बताए । दोस्रो वृद्धिका लागि वित्त आयोजनालाई विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १० चैत २०७८ मा अनुमोदन गरेको थियो । कोभिड १९ महामारीको जारी रहेको अवस्थामा वित्तीय स्थायित्वका जोखिमलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रको परिष्कृत पर्यवेक्षणलाई यस कार्यक्रमले सघाउने सरकारले जनाएको छ ।
यसले पूँजी, बिमा, र प्रकोप जोखिम वित्तीय बजारहरू खोल्न र नवीनतम वित्तीय सेवालाई प्रवद्र्धन गर्न मद्दत गर्ने जनाएको छ । यसले बाह्य व्यावसायिक उधारोमा पहुँच, वित्तीय डिजिटलीकरण र महिलाका लागि वित्तीय साक्षरताको माध्यमबाट अर्थतन्त्रको तरलता र समावेशीता बढाउने पहललाई पनि सघाउने मन्त्रालयले जनाएको छ । निजी क्षेत्रको नेतृत्वमा हुन सक्ने वृद्धिलाई सहयोग पु-याउने गरी वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न पनि यस परियोजनाले मद्दत गर्ने उल्लेख छ ।
यस आयोजनाले नेपालको हरित, उत्थानशील र समावेशी विकासलाई समर्थन गर्नुका साथै विभिन्न क्षेत्रमा जलवायु वित्तीय उत्थानशीलताका नीतिलाई सघाउँदै नयाँ जलवायु एजेन्डाको पनि शुरूवात गर्ने मन्त्रालयले जनाएको छ ।
“नेपाल हरीत, पुनरूत्थानशील र समावेशी विकासलाई राष्ट्रिय रणनीतिक विकास दृष्टिकोणको रूपमा अनुमोदन गर्ने पहिलो देशहरूमध्येको एक हो” विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, “सबै वित्तीय बजारहरूमा विस्तारित जलवायु उत्थानशीलता एजेन्डाको शुरूवात गर्नुका साथै रूपान्तरणकारी वित्तीय क्षेत्र सुधारका कार्यक्रमलाई सघाउँदै, यो आयोजनाले उत्थानशील पुनर्लाभमा समर्थन गर्दै महामारीको प्रतिकूल प्रभावलाई न्युनीकरण गर्ने सरकारको नीति तथा प्राथमिकताहरूमा थप योगदान पु-याउनेछ ।”
Source: https://www.karobardaily.com/news/184472
Most Recent News
Title | Category | Create Time | Eng | Nep |
---|---|---|---|---|
ADB forecasts modest economic growth | News | 2022-05-07 00:00:00.0 | ||
लगानी प्रवद्र्धन केन्द्रित नीति बनाउन सुझाव | News | 2022-05-07 00:00:00.0 | ||
वित्तीय क्षेत्र सुदृढीकरण गर्न विश्व बैंकको १८ अर्ब ऋण सहयोग | News | 2022-05-07 00:00:00.0 | ||
राष्ट्रिय सम्पत्तिको मूल्यांकनमा जोड | News | 2022-05-07 00:00:00.0 | ||
इन्डोनेसियाको निर्यात प्रतिबन्धले नेपालमा असर | News | 2022-05-07 00:00:00.0 |