Legal Documents
इन्डोनेसियाको निर्यात प्रतिबन्धले नेपालमा असर

पाम आयल व्यापार
इन्डोनेसियाले पाम आयलको निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालको कुल निर्यातमा त्यसको असर देखिने भएको छ । आन्तरिक बजारको मागलाई हेरेर इन्डोनेसियाले पाम आयालको निर्यातमा प्रतिवन्ध लगाएको हो ।
नेपालको एक चौथाइ निर्यात धानेको पाम आयलमा इन्डोनेसियाले प्रतिवन्ध लगाएपछि नेपालमा हुने पाम आयलको आयातमा प्रत्यक्ष प्रभाव पर्ने भएको हो । विभिन्न देशबाट पाम आयल आयात गरी त्यसलाई प्रशोधन गरी भारत निर्यात गरिँदै आइएकोमा इन्डोनेसियाले प्रतिवन्ध लगाउँदा आन्तरिक खपत तथा निर्यातमा समेत गम्भिर असर पर्ने देखिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालले इन्डोनेसियालगायत विभिन्न देशबाट ९ महिनामा झण्डै ३३ अर्ब ६१ करोड रुपैयाँ बराबरको पाम आयल आयात गरेको छ । आयात गरिएको कच्चा तेल प्रशोधन गरी ३६ अर्ब ३८ करोड रुपैयाँ बराबरको पाम आयल भारत निर्यात भएको छ । नौ महिनामा कुल १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा ३६-३७ अर्ब रुपैयाँको पाम आयलमात्र निर्यात भएको समयमा कच्चा पदार्थ नेपाल नभित्रिए निर्यात नराम्रोसँग प्रभावित हुने तथ्यांकले देखाउँछ ।
त्यसले निर्यातमा मात्र नभएर विभिन्न क्षेत्रमा असर गर्ने पूर्व वाणिज्य सचिव चन्द्र घिमिरे बताउँछन् । “पहिलो कुरा त नेपालमा झण्डै ४० अर्ब रुपैयाँ बराबरको लगानी गरेका १०÷१२ वटा उद्योगहरुको कच्चा पदार्थ इन्डोनेसियाबाट नै आउने गरेको छ,” उनले भने, “कच्चा पदार्थको अभावमा उनीहरुलाई उद्योग सञ्चालन गर्न समस्या हुने देखियो ।” त्यसका साथै उद्योगले आन्तरिक तथा बाह्य बजारमा सप्लाइ गरिरहेकोमा त्यसले निर्यातमा पनि ठूलो असर पर्ने उनको तर्क छ ।
साथै, आन्तरिक बजारमा समेत तेलको अभाव हुँदा पहिले नै बढिरहेको तेलको मूल्यमा थप प्रभाव पर्ने उनी बताउँछन् । साथै रिफाइन तेललाई कच्चा पदार्थको रुपमा उपयोग गर्ने उद्योगहरुमा समेत यसको असर देखिने घिमिरेको तर्क छ । “हाम्रा अन्य उद्योगहरु, जसले रिफाइन पाम आयललाई कच्चा पदार्थको रुपमा प्रयोग गर्छन् । उनीहरुलाई समेत तेलको बढ्दो मूल्य र अभावले असर पार्ने देखिन्छ,” उनले भने ।
त्यस्तै अर्थविद् केशव आचार्यले आपूर्ति घट्दा मूल्य वृद्धि उच्च हुने बताए । “तेलको आयात हुन छाड्यो भन्नेबित्तिकै यहाँका व्यापारीहरुले तेल लुकाउन थाल्छन् । त्यसले मूल्यवृद्धि ह्वात्तै हुन्छ,” उनले भने । साथै नेपालको प्रमुख निर्यात पाम आयल नै भएकाले निर्यात घट्ने र त्यसको असर विदेशी मुद्रा सञ्चितिमा समेत गर्ने आचार्यको तर्क छ ।
त्यस्तै तेल उद्योगमा काम गर्ने कर्मचारीहरुको जागिर धरापमा पर्नेदेखि तेलसँग सम्बन्धित अन्य क्षेत्रहरुमा समेत असर गर्दा राजस्वमा समेत यसको प्रभाव देखिने आचार्य बताउँछन् ।
Source: https://www.karobardaily.com/news/183948
Most Recent News
Title | Category | Create Time | Eng | Nep |
---|---|---|---|---|
ADB forecasts modest economic growth | News | 2022-05-07 00:00:00.0 | ||
लगानी प्रवद्र्धन केन्द्रित नीति बनाउन सुझाव | News | 2022-05-07 00:00:00.0 | ||
वित्तीय क्षेत्र सुदृढीकरण गर्न विश्व बैंकको १८ अर्ब ऋण सहयोग | News | 2022-05-07 00:00:00.0 | ||
राष्ट्रिय सम्पत्तिको मूल्यांकनमा जोड | News | 2022-05-07 00:00:00.0 | ||
इन्डोनेसियाको निर्यात प्रतिबन्धले नेपालमा असर | News | 2022-05-07 00:00:00.0 |